दैलेखमा पेट्रोलियम अन्वेषणको काम तीव्र, आयो उत्साहजनक नतिजा

यतिबेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्र पारिएको छ। जिल्लाको नाबिस्थान शिरस्थान पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ।

नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चाइना गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो।

उत्त सहमति अनुसार नेपाल सरकार खानी तथा भुर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चाइना सरकारको जिओलोजिकल सर्वे कम्पनी बिच २ अर्व ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा रहेका पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भए अनुसार अहिले अन्वेषणको कामले तीव्रता पाएको छ।

दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषण परियोजनामा लागेको चाइनाको विशेषज्ञ प्राविधिक टोलीले अहिले सम्म संकलन गरेका चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको खानी तथा भूगर्भ विभागका भू गर्भविद् डा गणेशनाथ त्रिपाठीले बताएका छन्।

उनले टोलीले अहिले सम्म गरेको सतही अध्ययनले जमिनमुनि रहेको पेट्रोलियम पदार्थलाई थुनेर राख्न नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण देखिएको बताएका छन्। दैलेखमा पेट्रोलियम अन्वेषण सुरु हुनु भन्दा पहिले अन्वेषण परियोजनाका भुगर्भविदहरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी नक्सासमेत तयार पारेर अहिले उत्त नक्सालाई आधार मानी विस्तृत अन्वेषण भइरहेको डा. त्रिपाठी बताउँछन्।

दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम अन्वेषणको कामले सकारात्मक उपलब्धि हासिल भए देश नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिने दैलेखमा लामो समय देखि पत्रकारिता गदै आएका पत्रकार विष्णु शर्माले बताएका छन्।

उद्योग बाणिज्य संघ दैलेखका महासचिव राजेश हामालले दैलेखमा पेट्रोलियम खानी मात्र नभएर तामा खानी,फलाम खानी,सिलेट खानी समेत रहेकाले सरकारले यी खानीहरूलाई पनि उत्खनन गर्न तर्फ ध्यान दिनु पर्ने बताएका छन्। पेट्रोलियम पदार्थको उपलब्धि हात परे समृद्ध कर्णाली समृद्ध नेपालको यात्रा तय हुने महासचिव हमालले बताएका छन्।