एउटै सभापतिको उम्मेदवार बन्ने अर्जुननरसिंहको ठोकुवा आफ्नै ज्वाइँ गगन थापालाई दिए यस्तो चुनौती ( भिडियो सहित )

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाटै संविधानमाथि खतरा रहेको बताएका छन् । सुत्र टिभीको ‘सुत्र बहस’ मा कुरा गर्दै नेता केसीले प्रधानमन्त्री ओलीले प्रजातन्त्र र लोकतन्त्रका अंगहरुलाई आफू मातहत राखेर प्रधानमन्त्री ओलीले निरंकुशताको सुरु गरेको बताए ।

उनले मानिसहरुको मुख थुनेर गरिने शासन कुनै पनि हालतमा लोकतान्त्रिक शासन नहुने जिकिर समेत गरे । उनले वर्तमान सरकारले जनतालाई सपना बाँड्ने र भ्रष्टाचार गर्ने भन्दा अरु केही काम गर्ननसकेको प्रष्ट पारे । नेता केसीले कांग्रेसका नेताहरुले पनि भ्रष्टाचार गरेको आरोप लगाउँदै सरकार पन्छिने गरेको बताए ।

उनले कांग्रेसकै सभापति देउवाले भ्रष्टाचार गरेको प्रमाणित गरेर जेल हाल्न सरकारलाई चुनौती समेत दिए । उनले होइन भने कांग्रेसका नेताहरुमाथि भ्रष्टाचारको आरोप लगाएर आफूहरु चोखिने हर्कत नगर्न कांग्रेस नेता केसीले सुझाव दिए । उनले भने, ‘मैले ज्ञानेन्द्र शाहीलाई चिनेको छैन, तर, उनले उठाएका मुद्दा शही छन् मेरो पनि समर्थन छ ।’

पार्टीमा केही समस्या देखिएको भन्दै आफूहरु सुधार्ने अभियानमा लागेको र १४ औं महाधिवेशनपछि सबै ठिक हुने उनले बताए । नेता केसीले सभापति देउवा पहिले ठिक भए पनि पछिल्ला समयमा उनका कार्यशैलि ठिक नभएको भन्दै असन्तुष्टि जनाए । उनले अब आउने महाधिवेशनमा देउवा इतरका सबै साथीहरुको एउटै प्यानल बन्ने ठोकुवा समेत गरे ।

उनले देउवा इतरका सबै आकंक्षीहरुबाट एउटै सभापति उम्मेदवार बनाउने समेत प्रष्ट पारे । उनले अब जो कोही आए पनि आफू लड्ने पदमा चुनाव लडेरै छोड्ने बताए । फेरी ज्वाइँ (गगन थापा) नै आए पनि पछि नहट्ने उनको प्रतिक्रिया थियो ।