नेपालका १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य, लाइसेन्स परीक्षामा लगातार ३६ पटक फेल

एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन्। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन्। लगातार ३६ पटकसम्म फेल हुने डाक्टर पनि छन्। विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ।

काउन्सिल श्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरु छन्। पटक पटक फेल भएका डाक्टरहरु लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।

पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।

अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*