तराईँमा मात्रै देखिने औलो हिमाली जिल्ला हुम्लासम्मै पुग्याे

हुम्ला जस्तो हिमाली जिल्लामा पनि तराइका जिल्लाहरुमा देखापर्ने औलो रोग देखिएको छ । यो पछिल्लो समयमा रोग मुगु, बाजुरा र हुम्लामा देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एक सता अघि हुम्लाको दक्षिण क्षेत्रमा रहेका ताँजकोट, अदनचुली, सर्केगाड लगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखापरेको महाशाखाबाट हुम्ला जिल्लामा खटिनुभएका ईन्टोमोलोजीस्ट अरुणप्रसाद चौधरीले बताए । गर्मीको समयमा तराइका अधिकांश जिल्लामा देखापर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाकाे कर्णाली नदी छेउछाउका बस्तीमा देखापरेको उनले बताए ।

हिमाली जिल्लाहरुमा जलवायु परिबर्तनका कारण तापक्रम बढेपछि हुम्लामा मात्र नभई मुगु र बाजुरामा पनि औलो रोगका लक्षण देखा परेका छन् । हुम्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि महाशाखाले यस क्षेत्रका गर्भवती महिलालाई निःशुल्क झुल र औषधीसमेत वितरण गरिएको ईन्टोमोलोजीस्ट चौधरीले बताए ।

नेपाल सरकारले सन २०२५ साल सम्म औलो रोग निवारण गर्ने अभियान संचालन गरी रहेका भए पनि झन पछिल्लो समयमा हिमाली जिल्लामै यो रोगका विरामी देखा परेका छन् । नेपालका हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए तापनि हुम्ला, बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले खुलासा गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिले औलोलाई दुई भागमा विभाजन गरेको छ । एक औलो, जुन छिमेकी जिल्लाहरूबाट आयातित हाे । याे औलो हुने जिल्लामा गएर फर्किदा मानिसहरूमा देखा पर्ने गरेको छ । अर्को चाहिँ स्थानीय स्तरमा नै देखा पर्ने गरेको महाशाखाले जानकारी दिएको छ ।

हुम्लामा देखा परेको औलौ स्थानीय स्तरमै रहेको बताईएको छ । हुम्ला जिल्लामा देखापरेको औलोले ठुलो असर नगरी सामान्य असर गर्ने खाले भएकाले यसले अहिलेसम्म ठूलो असर नगरेकोे जिल्ला जनस्वाथ्य कार्यालय हुम्लाका प्रमुख तुल्सीप्रशाद अधिकारीले बताए ।

यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण संक्रमण हुने चिकित्सकहरू बताउँछन् । संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा लामखुट्टेले आफ्नो र्यालको माध्यमबाट मानिसको रगतमा औलो जिबाणु सार्ने भएकाले आफ्नो घरआगान सफा राखेर सबे सचेत हुनु पर्छ ।

हुम्लामा गएको वर्षदेखि औलो रोगका विरामीको संख्या बढ्दै गएपछि जिल्ला अस्पताल हुम्लालाई नियन्त्रणमा चुनौती देखिएको छ । समुन्द्री सतहदेखि ५ हजार देखि ६ हजार फिट उचाई रहेको हुम्ला जस्तो चिसो ठाउँमा समेत यस वर्षदेखि ग्रामीण क्षेत्रमा रहेका स्वाथ्य संस्थामा औलो रोगीका बिरामी उपचारका लागि आउन थालेकाे स्वास्थ्यकर्मिहरुले बताएका छन् ।

औलो लागेपछि शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखीन्छ । ग्रामीण क्षेत्रमा औलो रोगका लक्षण देखिएपछि स्वास्थ्य संस्थामा यसको औषधि अभाव देखिएको छ ।

चेकजाँच गर्दा आफुलाई औलो लक्षण देखिएपछि स्वास्थ्य संस्थामा औलोको औषधि अभाब हुदा कसरी ज्यान जोगाउने भन्ने चिन्ता रहेको ताँजकोट गाउँपालिका ५ का किशोर बुढाले बताए । औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्विन र प्रिमाक्विन’नामक औषधिको अभाव हुन नदिन प्रदेश सरकारबाट पहल भई रहेको जिल्ला स्वास्थय कार्यालय हुम्लाले जनाएको छ ।