क्यानाडाको आकाशमा नेपाली चेली पाइलट, सम्मान स्वरूप शेयर गरौ !

बेनुप भट्टराई, टोरोन्टो

हिजो उनी टेक्सस् थिइन्, आज टोरन्टो। भोलि र पर्सी छुट्टी, घरै बस्छिन् । शुक्रबार टोरन्टो बाट शिकागो लाग्छिन्, फर्केर फेरि न्युयोर्क। शनिवार टोरन्टो देखि अटोवा, भोलि पल्ट फेरि अटोवाबाट बोस्टन पुग्छिन् । महिनामा १६ दिन बाहिर, १४ दिन मात्रै घर। त्यसमा सयौं घण्टा त उडेको उ्डयै आकाशमै। हिउँ परोस् या पानी, तालिका उही। घाम लागोस् या बादल, जिम्मेवारी उही।

यो एक ३२ बर्षीया नेपालीमूलकी युवतीको व्यस्त दिनचर्या हो, जो क्यानडाको टोरन्टो स्थित पिअर्सन एअरपोर्टलाई आधार बनाएर उत्तर अमेरिकी शहर पुग्न आकाशलाई यसैगरी फन्को मार्छिन् । हवाई जहाजमा यसरी घुम्ने उनी व्यस्त सेलिब्रिटी या ब्यापारी होइनन्, तीन ‘क्र्यू मेम्बर’सहित ९७ यात्रुको अगुवा भई आफैं जहाज उडाउने हँसिली ‘क्याप्टेन’ हुन्, त्यो पनि नेपालीमूलकी।’

जन्मस्थान: पोखरा, कास्की। शिक्षा: फ्लाइट् डिग्री।रुचि: हवाई उड्डयन। हालको बसाई: टोरन्टो, क्यानडा। नोकरी: एअर क्यानडा।र, नाम: कामना सुबेदी।पद चाहिँ: क्याप्टेन । इन्जिनियरिङ पेशामा रहेका बुवा ध्रुब र आमा कल्पना सुवेदीको कोखबाट जन्मिएकी कामना उड्डयन क्षेत्रमा लागेको झण्डै एक दशक भयो। तर, क्यानडाको राष्ट्रिय ध्वजाबाहक विमान एअर क्यानडामा क्याप्टेनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उत्तर अमेरिकी शहरमा उडान भर्न थालेको चाहिँ लगभग दुई बर्ष मात्रै।

सुबेदी परिवारमा कान्छी छोरीका रुपमा जन्मिएकी हुन् कामना। उनकी दिदी सञ्जिना अमेरिका छिन्। न्युयोर्कस्थित विंङ्हम्टन युनिभर्सिटीमा प्रोफेसर। भाइ कुसल चाहिँ बुवा आमासँग क्यानडामै। पोखरामा जन्मिएर १० कक्षासम्म त्यहींको विन्द्येश्वर बोर्डिङ स्कुल पढेकी कामना अहिले ‘एअर क्यानडा’को ‘एम्ब्राएर १९०’ जहाजकी क्याप्टेन हुन्। यो ब्राजिलियन विमानलाई उनले सन् २०१७ देखि उडाइरहेकी छन्। देश विदेशका दुई सय २२ गन्तव्यमा उडान भर्ने एअर क्यानडामा चार हजार जति पाइलट छन्।

त्यसमा करिव पाँच प्रतिशत मात्रै महिला।तर, त्यो पाँच प्रतिशतमा पर्न सफल ‘क्याप्टेन’ कामना दैनिकजसो उडान भर्दैछिन्। बार्षिक एक करोड रुपैयाँभन्दा बढी कमाई अनगिन्ति लोभलाग्दा सेवा सुविधा।३६ हजार फिटमाथि उड्दै लोभलाग्दा दृश्य नियाल्नुको मज्जा।आम मानिसले देख्न र भोग्न मुस्किल पर्ने उचाईको दैनिक यात्रा।‘हो, मैंले जो कसैले देख्न नपाउने दृश्य र महसुस गर्न नसक्ने क्षण आकाशमा देख्ने-भोग्ने गरिरहेकी हुन्छु’

कामनाले पिअरर्सन एअरपोर्ट परिसरमा मंगलबार ब्रेक एण्ड लिंक्सलाई आफ्नो उड्डयन अनुभव सुनाइन् ‘र, कहिलेकाहिँ बिजुली चम्किँदै चट्याङ पर्दै गरेको डरलाग्दो क्षण, बादल जम्मा भएर बर्षा हुँदै गरेको कालो आकाश र हिउँ नै हिउँ झर्दै गरेको सेताम्य धर्ती जहाजबाटै देख्न पाउँछु।’ प्रकृतिसँग त्यसरी पौंठेजोरी खेल्दै यात्रु र जहाजलाई गन्तब्यमा सधैं सकुशल अवतरण गराउनसक्नु पक्कै लरतरो काम होइन, जो उनी कुशलतापूर्वक पूरा गरिरहेकी छन्।

तर,यो सफलता र जिम्मेवारी एकैपल्ट मिलेको होइन, बर्षौंको अध्ययन, अथक मेहनत र कहिले नडगमगाउने आत्मविश्वासले आर्जन भएको हो। कामनाको ‘पाइलट बन्ने’ रहर बुझ्न पोखरा फर्कौं।यो उनी ४/५ बर्षकी छँदाको कुरा हो।नर्सरी कक्षामा दोस्रो हुँदा बुवा ले घरमा सानो ‘पार्टी’ गरेको रहेछ।छतमा बसेर खानेकुरा खाँदै गर्दा पोखराबाट जोमसोमतर्फ जाँदै गरेको हवाईजहाज नजिकैबाट उडेछ।

‘बुवा, यो कसले उडाउँछ ?’ कामनाको प्रश्न।‘यो पाइलटले उडाउँछ’ बुवाको उत्तर । त्यसपछि कामनामा छतमा निस्किँदै दिनका दिन ‘पाइलट हुने’ बालहठ पलाएछ।त्यो कुरा कामनाले सम्झेकी छन् या छैनन्, बुवा ध्रुबले भने ‘छोरीको सफलता पछि बच्चैदेखि लुकेको हुटहुटी’का रुपमा त्यसलाई सम्झिरहेका छन्। त्यस्तै, कामनाले हजुरबुवा रुद्रनाथसँग ‘पाइलट हुने’ जिद्दी कसेको प्रसंग पनि रोचक रहेछ।

पोखराबाट काठमाडौं जाँदा हो या काठमाडौंबाट पोखरा, ४/५ बर्षकी उनी हजुरबुवाको काखमा थिइन्।त्यसबेलाका हवाईजहाजमा ककपिट खुल्लै हुने। पछाडिका यात्रुले पाइलटलाई सजिलै देख्नसक्ने । त्यसैको फाइदा लिँदै नातिनी र हजुरबुवा वीच संवाद भएछ,‘ती अगाडिका मान्छे को हुन् ? कामनाको प्रश्न ।‘ती जहाज उडाउने पाइलट हुन्’ हजुरबुवाको जवाफ। हजुरबुवासँग हवाइयात्रा गरेको त्यही दिनदेखि ‘पाइलटै भएर छोड्छु’ भन्ने जिद्दी गरेकी उनले त्यो बालहठ कहिल्यै छोडिनन्।

चाहे परिवारमा कोही हवाई क्षेत्रमा लागेको र जानकारै किन नहोस्, चाहे त्यस बेला नेपालमा सजिलै पाइलट हुनसक्ने अवस्था किन रहोस् । ‘मेरो जिन्दगीमा पाइलट हुनेबाहेक कुनै बिकल्प नै थिएन, त्यो जसरी पनि भएरै छोड्नुथ्यो’ सन् २००२ मा परिवार सहित क्यानडा आएकी कामनाले सुनाइन्, ‘जसका निम्ति परिवारको फुल्ली सपोर्ट त भयो नै, आफूले गर्ने मेहनत र परिश्रममा पनि कुनै अल्छी गरिनँ।’

एसएलसीको तयारी चल्दै गर्दा क्यानडा आएपछि कामनाले ग्रेड ९ बाट मिसिसागाको एउटा स्कुलमा पढाइ सुरु गरिन्।त्यहाँबाट १२ छिचोलेपछि उनी सेनेका कलेज भर्ना भइन्– ४बर्षे फ्लाइट डिग्री कोर्समा।लक्ष्य निश्चित थियो– पाइलट हुने।घर सल्लाह गरेपछि कलेज छान्न समय लागेन। ‘ब्राम्प्टनको घरबाट बसमा डेढ घण्टा जान, डेढ घण्टा आउन लाग्थ्यो, हिउँ पर्दा होस् या झरी-पानी बर्सिदा प्रायः क्लास बंक गरिनँ’

कामनाले लक्ष्य प्रतिको लगन शिलता सम्झिइन्, ‘भर्ना भएकामध्ये ६५ देखि ७० प्रतिशतले हिम्मत हारेर पढाई छोड्थे, मैले त्यसो गरिनँ, किनकि मैले पाइलटै हुनुथ्यो।’ सन् २००९ मा फ्लाइट डिग्री सकेपछि उनले आफू अध्ययनरत् त्यही सेनेका कलेजमा ‘फ्लाइट इन्सटक्टर’को जागिर पाइन्। हवाईजहाज उडाउन विधिबारे कक्षा कोठामा पढाउनुपर्थ्यो भने पढाएको कुरा जहाज उडाएर व्यवहारमा सिकाउनु पर्थ्यो।

सिकाउनेक्रममा कलेजको एउटा जहाज दुर्घटना भएछ।उनले होइन, अरु नै कसैले उडाइरहेको।त्यो घटनापछि ‘जोखिमपूर्ण काम’ भनेर बीचमै पढाई छोड्ने धेरै भएछन् । तर, उनले कुनै पनि काम सयमा सय प्रतिशत सुरक्षित नहुने निर्क्यौल गर्दै त्यता ध्यान दिइ नन्। ‘म इन्सटक्टर रहेकै बेला दुई नेपालीमूलका विद्यार्थी भर्ना भएका थिए, तर त्यस्ता घटनाहरु देखेर बीचमै छोडे’

कामनाले अनुभव सुनाइन्, ‘भाग्नुथ्यो भने मलाई पनि कति हो कति बहाना थिए,तर मैले पाइलटै हुनुथ्यो जो भागेर सम्भव थिएन, संघर्ष नै गर्नुपर्थ्यो।’ दुई बर्षपछि उनको वायोडाटामा एक हजार घण्टा उडान अनुभव थपियो।आफूले पढ्दा र विद्यार्थीलाई सिकाउँदा उनले त्यति समय आकाशमा बिताएकी थिइन्।त्यसै आधारमा उनी सन् २०११ म ‘कार्गोजेट’ कम्पनीमा सेकेण्ड अफिसर भइन्।

त्यसक्रममा बोइङ ७२७ मा उनी रात रातभर उडेर क्यानडा र अमेरिकाका विभिन्न शहर पुग्थिन् । एक बर्षपछि त्यही विमानमा फस्ट अफिसर अर्थात् को–पाइलट भएर उडान भर्थिन् । सामान ढुवानी गर्ने हवाई जहाज भएकाले त्यो राती राती उडाउनु पर्थ्यो । उनी रोकिनेवाला थिइनन्, जो अनुभवलाई आधार बनाउँदै अझ माथि पुग्न आतुर थिइन्।सन् २०१३ देखि १६ सम्म उनले स्काई रिजनल एअरलाइन्समा काम गरिन्।

त्यसपछि एअर क्यानडा एक्सप्रेसमा।सबैतिरको उडान अनुभव २५ सय घण्टा पुगेपछि उनी दुई बर्षदेखि एअर क्यानडामा ‘क्याप्टेन’को जिम्मे वारीमा पुगेकी हुन्। ‘लक्ष्य त अझ ठूलो जहाज लामो दूरीमा उडाउने नै हो, अहिले पाएको जिम्मेवारी पनि ठूलो र चुनौती पूर्ण हो’ जसजति सबै स्टाफमा बाँडिने तर केही छिरिक्क भए अपजसजति आफ्नोमा आइपर्ने क्याप्टेन–कर्मबारे उनले भनिन्, ‘लामो दूरीमा उडान भर्न यी सबै अनुभव आवश्यक छन्, त्यसै अन्तिम लक्ष्यमा पुगिन्न।’

कामनालाई त्यो अन्तिम लक्ष्य चुम्न अब मुस्किल नपर्ला। उनका, हुनेवाला पति सेथ मोफट् पनि पाइलटै हुन्, जो एअर क्यानडामै छन्। उनीहरुवीच इन्गेज्मेन्ट भइसकेको छ। आगामी नोभेम्बरमा विवाह हुँदैछ।सेथ नेपालमा विवाह गर्ने इच्छा राख्दैछन्। त्यो अझै टुंगो छैन तर उनी ‘पोखरा गएको खण्डमा कामलाग्ने’ सोचेर प्याराग्लाइडिङसमेत सिक्दैछन्।

नेपालमा सिभिल इञ्जिनियर रहेका ध्रुब ‘नजिकका शुभचिन्तकको सल्लाहमा छोराछोरीको भविष्यकै लागि’ क्यानडा सरेका थिए। त्यसबेला ‘इन्जिनियर जस्तो मान्छे विदेश गयो’ भनेर कुरा काट्नेको कमी थिएन। अहिले तीनै सन्तानको प्रगति देख्दा ध्रुबलाई ‘जे भयो राम्रै भयो’ लाग्छ। ‘छोरी क्याप्टेन हुँदा खुसी त छँदैछु, निश्चित लक्ष्य बनाई मेहनत गरे सफल भइन्छ भन्ने कुराको पनि साक्षी भएको छु’

टोरन्टोमा सरकारी नोकरी गर्ने उनले भने, ‘छोरीले देखेको सपनामा हामीले मलजल गरिदियौं, सपनाको आकार फैलाउँदै उनी अझ अघि बढ्दै गइन् ।’ क्यानडाको नेपाली समुदाय कामनाको सफलताप्रति गौरव गर्दैछ । डेढ दशकदेखि टोरन्टो कर्म भूमि बनाएका एनआरएनए क्यानडाका पूर्वअध्यक्ष अनिल थापा भन्छन्, ‘विदेश बस्ने नेपालीलाई हेर्ने जुन संकुचित दृष्टि छ, त्यसलाई कामनाले गलत सावित गरिदिइन्।

विदेशमा सफल हुने नेपाली पुस्ता यसैगरी बढ्नुपर्छ।’ उड्डयन क्षेत्रमा महिला पाइलटलाई बढी चुनौतिपूर्ण हुने उल्लेख गर्दै पूर्वपाइलटसमेत रहेका थापाले ‘कामनाको सफलता चानचुने कुरा नभएको’ बताए। पाँच हजार घण्टा उडान अनुभव बटुलिसकेकी कामना बचे खुचेको समयमा पोखरा बस्ने ८४ बर्षीय हजुरबुवालाई आकाशबाट खिचेका फोटा पठाउँछिन्, जसको काखमा लुटपुटिँदै उनले ‘पाइलट हुने’ सपना देखेकी थिइन्।

कामनाले मुहारमा खुसी ल्याउँदै भनिन्, ‘ती फोटा देख्दा सबैभन्दा खुसी हजुरबुवा नै होइसिन्छ ।’ घर बसेका बेला यी कास्कीकी छोरी, क्यानडाकी क्याप्टेन नेपाली परिकार बनाउन रुचाउँछिन्।उनले बनाउने मःम हुनेवाला पति सेथले एकपल्टमै २० वटासम्म खाइ दिन्छन् रे।अनि, स्कटल्याण्डबाट सन् १९९७ मा क्यानडा आएका सेथको नेपाली परिकारप्रतिको रुचि र नेपाल प्रेम सुनाउँदै कामनाले एउटा चाहना राखिन्, ‘क्यानडाबाट एक न एक दिन आफैं विमान उडाएर काठमाडौं पुग्ने धोको छ।’ त्यो धोको छिट्टै पूरा होस्, कामनालाई शुभकामना।

यो पनि पढ्नुस 

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।