पृथ्वीनारायणको शालिकमुनि रातो टालोमाथि राखी राष्ट्रपतिलाई सलामी (भिडियो सहित)

आज पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालियो ।

पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाएर नेपाली सेनाले सलामी अर्पण गर्‍यो । राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी,  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए ।

समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि सहभागी थिए ।

भिडियो :

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए। तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए। गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रुपमा विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए।

आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ।

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो। उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए।

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन।

नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग – राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो।

आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ। नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ।