पारिवारिक सुखका सात शुत्र, जानी राखौ

बिहान उठेदेखि हाम्रो दौडधूप सुरु हुन्छ । कामधन्दा, भेटघाट, मिटिङ, किनमेल । बिहान घाम झुल्किएदेखि राती अध्याँरो पोतिएसम्मै हामी चलयामान रहन्छौं । केही सोच्छौं । योजना बनाउँछौं । केही गर्छौं । आखिर यी सबै के का लागि ?

जवाफ तात्तातो आउँछ, ‘आफ्नो सन्तुष्टिका लागि । परिवारका लागि ।’

हाम्रो दैनिक चक्र नै आफु र परिवार सुखका लागि घुम्ने गर्छ । तैपनि हामीलाई परिवार सुख मिलिरहेको हुँदैन । एकातिर मिलाउन खोज्छौं, अर्कोतिर बिगि्रसकेको हुन्छ । एकातिर टालटुल गर्छौं, अर्कोतिर भ्वाङ परिसकेको हुन्छ । एकातिर उठाउन खोज्छौं, अर्कोतिर कोल्टे फेरिसकेको हुन्छ ।

आखिर किन सोचेजस्तो तालमेल मिल्दैन ?

जबकी हामीले निरन्तर प्रयास गरिरहेकै हुन्छौं । दिनभर दौडधूप गरिरहेकै हुन्छौं । आफ्नो स्वास्थ्य र बालबच्चालाई समेत छाडेर अनेक यत्न गरिरहेका हुन्छौं ।

खासमा परिवार सुख हामीलाई तबसम्म प्राप्त हुँदैन, जब त्यहीभित्र समस्याको समाधान खोज्दैनौं । हामी घर-परिवारभित्रको समस्या निदान गर्न बाहिर चाहर्छौं । समस्या घरभित्रै हुन्छ, हामीभित्रै हुन्छ । के हो समस्या ? कसरी त्यसको उपचार गर्ने ?

परिवार-सुख

धार्मिक शास्त्रहरुले पनि परिवार एवं सन्तान सुखलाई ‘सर्वोच्व सुख’ मानेको छ । जब परिवारमा सुख, शान्ति हुन्छ । जब आमाबुबा, छोराछोरी, नाती-नातिनी, सासु ससुरा, छोरा बुहारी सबैबीच सौहार्द्धपूर्ण सम्बन्ध रहन्छ, आपसी सहयोग र सक्रियता रहन्छ, तब परिवारमा सुख छाउँछ ।

परिवार-सुख आफैमा एक शक्ति हो । उर्जा हो ।

यदी हाम्रो परिवारमा सुख, शान्ति छ भने हामीलाई जस्तोसुकै विध्न बाधासँग पनि जुध्न गाह्रो हुँदैन । हिम्मत हुन्छ । जोस हुन्छ । जाँगर हुन्छ । मनमा अपार सन्तोष हुन्छ । त्यसो भए कसरी मिल्छ त परिवार सुख ?

सूत्र-१ः एकअर्काको सहयोग र सद्भाव

परिवार सुखको पहिलो सर्त भनेको आपसी सहयोग, सहकार्य र सद्भाव हो । घरका सबै सदस्यले आ-आफ्नो क्षेत्रबाट आफ्नो दायित्व वहन गर्नुपर्छ । अर्थात दाजुको जिम्मेवारी के हो, त्यही अनुरुप उसले काम गर्नुपर्छ । छोराछोरीको काम के हो, त्यो उनीहरुले पुरा गर्नुपर्छ । अर्थात सबैले आ-आफ्नै काम, कर्तव्य पालना गर्नुपर्छ । घर संचालनको यो एक प्रणाली हो ।

जस्तो कि, कसैले कमाएर ल्याउँछ । यसरी कमाएको कुरालाई जतन गर्ने वा बचत गर्ने काम अर्कोले गर्नुपर्छ । एक जनाले घर बाहिरको काममा खटिनुपर्ने हुन्छ । उनीहरुलाई घरभित्रको काममा सहज बनाइदिनुपर्छ । यस्तो काम कसैले भनेर, अह्राएर भन्दा पनि स्वतस्फूर्त रुपमा भएको राम्रो ।

यसरी सबैले आग्रह/पूर्वाग्रह नगारी पारिवारिक दायित्व पुरा गरेपछि घरमा समृद्धि छाउँछ । पारिवारिक सुख प्राप्त हुन्छ ।

सूत्र-२ कार्य विभाजन

खासगरी आ-आफ्नै हैसियत र भूमिका अनुरुप कार्य विभाजन गरेर अगाडि बढ्नु राम्रो हुन्छ । अर्थात परिवारका हरेक सदस्य यसरी चलयामान हुनुपर्छ कि, कसैका लागि कोही बोझ हुनुभएन । सबैले आफ्नो क्षमता, दक्षता अनुसार काम गर्नुपर्छ । काम भनेको कमाउने वा जागिर खाने वा खेतबारी खनजोत गर्ने भन्ने मात्र होइन । काम भनेको आफ्नो पारिवारिक संरचना अन्र्तगत निर्धारण हुन्छ । यसरी निर्धारण गरिएका कामलाई आफ्नो दायित्व ठानेर कुशलतापूर्वक सम्पन्न गर्ने प्रयास गर्नुपर्छ ।

अक्सर हामीकहाँ एकजना कमाउने र बाँकी सदस्य त्यही कमाईमा आश्रति रहने प्रवृत्ति हुन्छ । पारिवारिक कलह र दुखको मूल कारण यही हो । जब एकजना मरिहत्ते गरेर काममा लाग्छन्, अरुले पनि उसलाई होस्टेमा हैंसे गर्नुपर्छ । यसरी एकअर्काको काँध थापेर, एकअर्काको साथ लिएर, एकअर्कासँग हातेमालो गरेर पारिवारिक समृद्धि ल्याउन सकिन्छ ।

सूत्र-३ः अपेक्षारहित सम्बन्ध

परिवार सुखको दोस्रो सर्त भनेको अपेक्षारहित सम्बन्ध हो । जब हामी एकअर्काप्रति अपेक्षा गर्न थाल्छौं, केही न केही गडबड भइहाल्छ । दाजुले वा भाउजुले यसो गरिदिए हुन्थ्यो, सासुले यस्तो नगरिदिए हुन्थ्यो, आमाबुवाले यसरी गरिदिए हुन्थ्यो भन्ने किसिमको जुन अपेक्षा राखिन्छ, त्यो अपेक्षा पूर्णत पुरा हुन्छ भन्ने छैन ।

किनभने हामी जे अपेक्षा राख्छौं, दोस्रो व्यक्तिले त्यसबारे कुनै भेउ नपाएको हुनसक्छ । अतः हामीले अपेक्षा गरेजस्तो हुँदैन, मनमा खिन्नता हुन्छ । मनको खिन्नता हाम्रो अनुहार, हाउभाउ र बोली-व्यवहारबाट प्रकट हुन्छ । यसले कलहको स्थिती पैदा गर्छ 

सूत्र-४ः एकअर्काको सम्मान, श्रद्धा र माया

परिवारमा कोही उमेरले ठूला हुन्छन्, कोही उनको खुवी एवं क्षमताले । हरेकलाई उनीहरुको स्थानमा सम्मान गर्नुपर्छ । कसैले कसैलाई होच्याउने, भेदभाव गर्ने, कमजोर ठान्ने, हेलाहोचो गर्ने व्यवहार एकदमै हानिकारक हुन्छ ।

परिवारको मियो भनेका आमाबुवा, हजुरआमा-हजुरबुवा अर्थात घरका जेठोपाको मान्छे हुन्छन् । उनीहरुलाई सधै श्रद्धापूर्वक व्यवहार गर्नुपर्छ । जब हामी घरका सबैभन्दा जेठोपाको मान्छेलाई हेल ागर्न थाल्छौ, बाहिरी व्यक्ति हाम्रो घर परिवारमा हावी हुन्छन् । त्यसैले घरका मूल मान्छेलाई हामीले सधै पारिवारिक आस्थाको धरोहर बनाउनुपर्छ ।

घरमा कोही बौद्धिक हुन्छन्, कोही कमजोर हुन्छन् । कोही बलियो हुन्छन्, कोही निर्धो । कसैले धेरै काउँछन्, कसैको कमाई नहुन सक्छ । यी सबैप्रति समान व्यवहार र सम्बन्ध कायम राख्नुपर्छ । अक्सर घरमा कमाई गर्ने वा बढी जान्नेबुझ्ने हावी हुन्छन्, यसले पनि पारिवारिक सुखमा भाँजो हाल्छ । त्यसैले परिवारमा जे-जति सदस्य हुन्छन्, उनीहरुलाई आ-आफ्नै किसिमको मर्यादामा रहन दिनुपर्छ ।

सूत्र-५ः आयआर्जन र आर्थिक व्यवस्थापन

परिवारमा कतिबेला कलह हुन्छ ? कतिबेला एकअर्काप्रति गुनासो बढ्न थाल्छ ? किन झैझगडा हुन्छ ? किन मनमुटाव हुन्छ ?

यसको मूल जरो भनेको, आर्थिक कुरा हुन् ।

जब पारिवारिक दायित्व बढ्दै जान्छ । व्यायभार अर्थात खर्च बढ्न थाल्छ । ऋण लाग्न थाल्छ । तब, परिवारको सुख हराउँछ । त्यसैले घरको आर्थिक स्थितीलाई बलियो बनाउने प्रयत्न सबैबाट हुनुपर्छ । यसका लागि कोही जागिर खान सक्छन्, कसैले आफ्नै उद्यम चलाउन सक्छन्, कोही व्यपार गर्न सक्छन्, कोही खेतीपातीमा लाग्न सक्छन्, कोही पशुपालनमा लाग्न सक्छन् । यसरी घरमा आयआर्जनको स्रोत बढाउनुपर्छ ।

तर, आय आर्जन बढाएर मात्र पनि पुग्दैन । त्यसलाई उचित किसिमले व्यवस्थापन गर्ने, बचत गर्ने वा खर्च गर्ने प्रणालीको पनि विकास हुनुपर्छ । अर्थात परिवारका सदस्यले कमाएर ल्याएको पैसालाई कहाँ, कसरी खर्च गर्ने ? लगानी गर्ने ? बचत गर्ने भन्ने कुरामा ख्यालबिचार गर्नुपर्छ ।

सूत्र-६ः पारिवारिक मनोरञ्जन

घरको सवै व्यवस्थापन मिलेको छ । कमाउनेले कमाउँछन् । जतन गर्नेले गर्छन् । कोही बाहिरको काम गर्छन् । कोही भित्रको । परिवारमा बुढापाकामाथि श्रद्धा गरिन्छ । बालबच्चाप्रति स्नेहभाव राखिन्छ । एकअर्कासँग सहयोग, सहकार्य हुन्छ ।

अब यससँगै पारिवारिक मनोरञ्जन, रमाइलो पनि आवश्यक हुन्छ ।

सधै एकैनासले जीवन चल्दैन । जीवनमा अनेक उतार-चढाव आउँछ । त्यसैले बेलामौकामा हामीले खुसी साटासाट गर्नुपर्छ । मनोरञ्जन गर्नुपर्छ । घरका परिवारबीच मिठो-मसिनो बनाएर, कतै घुमफिरमा गएर, नाचगान गरेर । अनेक किसिमले रमाइलो गर्न सकिन्छ । हुन त चाडपर्वले पनि हाम्रो परिवारमा उस्ता उत्सव ल्याउने गर्छ । यद्यपी सधै चाडपर्व पर्खेर मात्र पनि हुँदैन । सानो सानो कुरामा खुसी बाढ्ने, एकअर्काको सफलतामा उत्सव मनाउने संस्कार बसाउनुपर्छ ।

सूत्र-७ः स्वास्थ्य खानपान र जीवनशैली

सोच्नुहोस् त, परिवारका कुनै सदस्य रोगले थलिए के हुन्छ ? परिवारका कुनै एक सदस्यलाई अस्पतालमा भर्ना गर्नुपरे के हुन्छ ?

खासमा भन्ने हो भने हाम्रो खासगरी नेपाली समाजको लागि ठूलो भार बन्ने गरेको छ, दुखबिराम । किनभने दुखबिराम लागेपछि त्यसमा राज्यबाट खास सहयोग लिने प्रणाली छैन । रोगीको उपचार, औषधी, रेखदेख सबै परिवारकै सदस्यले गर्नुपर्छ । यसको अर्थ के भने, जब एक जना मात्र बिरामी पर्छन्, समग्र परिवार उनकै स्यहारसुसारमा खटिनुपर्छ । यसले एकातिर व्यायभार बढाउँछ, अर्कोतिर तनाव ।

त्यसो भए के गर्ने त ?

यसको भरपर्दो व्यवस्थापन भनेको पारिवारिक स्वास्थ्यको ख्याल नै हो । यो भनेको सबैजना स्वास्थ्यप्रति सचेत हुनुपर्छ । कस्तो जीवनशैली अपनाउने, कस्तो खानपान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने, योग गर्ने, पूजाआजा गर्ने, ब्रेकफास्ट लिने, सरसफाई गर्ने जस्ता कार्यले रोगमुक्त जीवन बिताउन सकिन्छ । परिवारमा कस्तो खानपान गर्ने ? कस्तो जीवनशैली अपनाउने भन्ने कुरामा पनि सबैले सही बाटो रोज्नुपर्छ ।