मेरो नाम गोरु ! तर किन मानिसले गल्ती गर्दा मेरो नामको खिल्ली उडाएर अरुलाई गोरु भनि बोलाउछन ?

नरेन्द्रजंग पिटर

हिंड्दै थिएँ एकाविहानै एउटा गोरु ठिङ्ग अगाडि उभियो । मात्तिए झैँ लाग्यो ।

गोरुः आज गोरु तिहार भन्ने थाहा छैन् ?

गोरु बोलेको कस्तो अचम्म । देखेँ …गोरुहरु पनि बोल्न सक्दारहेछन् ।
‘पशु जात पुजा गर्न छोडेको धेरै भइसक्यो-भनी दिएँ ।
‘के गछौँ ?’
‘एउटा सामान्य लेखक हुँ ।’
‘मेरो कथा, एउटा गोरुको कथा लेख्न सक्छौ ?’

‘गोरुको कथा ! हा हा ! गोरुको पनि कतै कथा हुन्छ र ! लेखिहालौँ भने पनि तिम्रो मर्मको भाषा त बुझ्दिनँ, कसरी लेख्ने ? अनि पढिदिने कसले ? गोरुले कि मान्छेले ? ’

‘हेर …भाषाभन्दा पहिला धर्तीमा संवेदना जन्म्यो । त्यसलाई स्वर दिइयो । इसाराका अर्थ लागे । तव बोलीचाली बन्यो । हरेक प्राणीका आ–आफनै भाषा हुन्छन् । जीवनकथा हुन्छन् । हामी गोरुको पनि हुन्छ । उसको जीवनका मर्म बुझने एउटा इमान्दार लेखकले भने लेख्न सक्छ ।’

…ओ हो इमान्दार र बेइमान लेखक… गोरुहरु पनि सोच्छन् । बोल्नेभन्दा नबोल्ने खतरा हुन्छन् । नबोल्ने त झन् महाविद्धान पनि हुन सक्छन् । आज क्या मरिहत्ते लागि पर्यो । गोरु पुजा । गोरुसँग जम्काभेट । गोरु उपदेश सुन्नुपर्ने । तर्कन चाहिँ, यसै पनि म सिद्धहस्त लेखक होइन ।

‘तिम्रा भाव अक्षरमा उतार्न सक्दिनँ, उतारी हाले पनि के अर्थ हुन्छ र ? तिमी र तिम्रा जातले हाम्रो लिपी पढ्न सक्ने त हैनन् क्यार । मेरा जातले पढेर तिम्रो कूलवंशलाई के नै अर्थ ? के नै फाइदा हुन्छ र ?’

एउटा विद्धान र दार्शनिक गोरुको सामना गोरु तिहारकै दिनमै भोग्नुुपर्ने कर्म एउटा सिकारु लेखकको सामुुन्ने चुनौती थियो । पशुु भाषा इसाराले नै बुुझ्ने भइसकेको पनि थिएँ । ऊ भन्दै गयो, म टिपोट गर्दै गए ।

‘गोरु तिहार भएर पनि म भने आज खुशी छैन् । मेरो मन ज्यादैै रोएको छ । पुराना दिन सम्झन्छु । जातिको कर्म र नियति गम्छु । धेरै धेरै कुरा मन र मस्तिष्कमा खेलिरहेका छन् । भोली त हलो जुवामा नारिनै पर्ने हो । दिन उदास लाग्छ । जुरोमा ठोकिएको तेल, गलामा लगाई दिएको माला, पुरी पक्वान र टाट्नामा हालिएको हरियो बन्सो घाँस पनि आज त्यतिको स्वादिलो छैन । मनै दुःखी भएपछि तन कसरी खुशी होस् र ! मिठो र नमिठो खुुशी र दुःख पनि त मनसंगै जोडिएका हुँदा रहेछन् । मनका कुरा कसैलाई सुनाउन पाए हल्का हुुइन्थ्यो तर, सुन्ने कस्ले ? बुुझने कस्ले ? एउटा गोरुको विलौना सुन्ने कसलाई नै फुर्सद हुन्छ र ! त्यसैले आज अत्यन्तै दुःखी छु ।’

‘भन् न, म सुन्छु । सके लेख्छु’

‘माला लगाउन, जुरामा तेल ठोक्न आउनेको । भुँडी फोरी दिउकी जस्तो लाग्छ । गलाको माला म¥याकमुरुक चपाइदिएँ । संधै घामपानीमा जोत्ने, विरामी भएका बेला कुनै वास्ता नगर्ने अनि आज भने पुज्न आउने ? भुडीँ नै फोरी दिउकी जस्तो लाग्याथ्यो तर गरिनँ । देखिएका र नदेखिएका जुवा अत्यन्तै शक्तिशाली हुन्छन् । मन खुम्च्याएँ । आज भने काँधाँ जुवा पर्ने छैन । आजै पनि हलीले आँखा त¥यो । जुवा नपरेको काँध कस्तो हुँदो हो ! थाहा पाउन मन लाग्छ । हिजै मेरी भूतपूर्व जोईको तिहार गौपुजा, लक्ष्मीपुजा भनेर धुमधामसँग नै मनाइयो । मेरी भूूतपूर्व जोई गौ माता रे …. म उसको ख्वामित भने गोरु । मेरी जोईलाई गौमाता भन्नेहरुले मलाई गौ पिता किन भन्दैनौ ? हँ !

गोरुलाई हाँक्ने हली त पछाडि देखिन्छ, मान्छे हाँक्ने हली वा मालिक को र कहाँ छ ? गोरुको जुँवा र जोतारो त देखिन्छ तर मान्छेको काँधको जुँवा के कस्तो हुन्छ र कसरी फालिन्छ ? किन सोँच्दैन मान्छे ? के सोच्ने भनेर मान्छे किन सोँच्दैन । गोरुभन्दा ठूलो गोरु को ?

म पनि कुनैदिन ठिँठीँ गर्ने बहर नै थिँए अर्थात् उसको ख्वामित । उमेरमा घोर्ले को हुँदैन र ? मेरो शक्तिको मलाई अत्यन्तै घमण्ड थियो । कसैले मेरी प्रेयसीलाई एक नजर लगाए पनि डाँडा कटाइ दिन्थे । विचरा बुढागोरुहरु भने शिकार बन्थे । जुँध्न हिम्मतिलो त अर्को बहर नै चाहिन्थ्यो । तुजुुग बल कस्तो हुन्थ्यो भने जँुध्न अरु भेटिएन भने कान्लोमा होक्राँ गर्दै सिंगुरी खेलिन्थ्यो । शक्ति भएपछि सिंग चिलाउँछ । जुुध्ननै पर्छ ।

सक्कली दुश्मन नभए नक्कली पनि बनाउनै पर्ने । अरु कोही नपाए कान्लामै सिंगौरी खेलेर चिलाएको सिंगको तुुष मेटाउनै पर्ने । यो हाम्रो गोरु जातिको नियति हो । केही दिनपछि मलाई सुमरियो । प्रियसीको पोई बन्ने अधिकार छिनियो । सँगैको साथीलाई डामेर साँढे र मैमत्त बन्ने हक दिइयो । म पनि बाँउठे देखिएको भए बैतरनी तार्ने तिम्रो जातिको गोवंश, शिव–वहान भनेर पुजिन्थे । लौरीको चुटाई, बन्सो घाँसको लोभ, छाडा छोडिँदा बाघसँग ज्यानको डरले म गोरु बनेको रहेछु । अव ती दिन गमेर के फाईदा भो र ? तब नै हो मेरो हविगत हलो तान्ने, बाँझो धर्ती जोत्ने, खेतीमा गन्धेझार फाड्ने, हिल्याउने, डोल्याउने । त्यत्रो होक्रा गर्ने मैमत्त बहरलाई जुवामा लतारिनु पर्ने, जोतारोले बाधिँनुपर्ने एउटो सिन्कुनो लौरी आतंक झेल्न नसक्दा हो ।’

‘कसैले पनि कसैलाई होच्याउनुु परे गाली गर्नु परे, मूूर्ख ठहराउनु परे कस्तो गोरु भन्ने गर्छौ । मिहिनेती जातको भाउ कहाँ छ र ….। गोरु र गधा त गाली नै बनाएका छन् मान्छे जातले ।’

‘गोरु तिहारको दिन…. चुुट्न त चुुट्दैनौ नी ! मनको कुरा छर्लङ्गै खोल्छु । पापको डरले पनि आज तिमीहरुले कुट्ने, पिटने छैनौ । गोरु हुँ …तर पनि थाहा छ ….। जे भनेर मानव जातिले हाम्रो गोवंशलाई उल्याउँछ । त्योभन्दा ज्यादा तिमीहरु अझ गोरु छौ । हाम्रा दाम्ला देखिन्छन् तर तिम्रा भने अदृष्य छन् । ती अदृष्य दाम्ला चुँडाल्न नसक्ने मात्र होइन, कोशिस पनि तिमीहरु गर्दैनौ । हामीलाई त साङ्लाले बाँधेर, नाथ्री छेडेर, जुवामा जोतारोले कसेर ठिउँर्याइएको हुन्छ तर, केही त्यस्तो नभए पनि तिमीहरु भने सदा जोतिइ रहन्छौ ।

हामीलाई जोत्ने हली त अनौँ पछाडि देख्छौँ तर तिमीहरुले त कस्ले जोतेको छ भन्ने पनि थाहा पाउदैनाैंँ । हामी गोरु हौँ…. सोच्दैनाैँ, ठिकै छ । के तिम्रा जातले सोचेको कुरा तिम्रा अाफ्नै त हुन ? तिमीहरुले गर्ने कर्म स्वकर्म नै हुन् ? हो, हाम्रा मालिक देखिन्छन् … के तिमीले आफ्ना मालिक कहिल्यै देखेका त छौ ? अहिले पो सम्झिइन्छ-जब म बहर थिएँ, त्यसवेला दाउन लागियो, म भने जुवामा नारिन मान्दै मानिनँ । थचक्कै बसेँ ।

हलमा मिलिनँ, सियोमा लागिनँ । दाैतरी बुढो गोरुलाई ननारिन पनि भनेँ । उसले मान्दै मानेनँ । हामी गोवंशको नियति नै यही हो भनेर उल्टो पो सम्झायो । म किन मान्थे र ! थचक्कै बसेँ । उठ्दै उठने । तब नाक र गुुद्द्धारमा ज्यानमारा खोर्सानी लगाइदिए । पुच्छर निमोठे, आगो झोसिदिए । एउटा चारपायको पुच्छर कति कोमल र संवेदनशील हुन्छ, तिमी मान्छेलाई के थाहा ! मान्छेलाई त त्यती पनि गर्नै पर्दैन । खुरुखुरु जोतिन्छ, लौरी लगाउनै पर्दैन । गोरु र मान्छेमा फरक नै यही हो ।’

मान्छे र गोरु संवाद बटुवाहरु नियाली रहेका छन् । ऊ बलिन्द्रधारा आँशु बगाउँदै थियो । म पनि भावुक बन्दै गएको थिएँ । हाम्रा संवाद नियाली रहेका बटुवाहरु मलाई बौलायो भन्दै गरेको सुन्दै थिएँ । म भने मेरो महागुरु गोरुको कथन गम्दै थिए र कसरी उसकै भावलाई अक्षरमा उतार्ने चुनौती झेल्दै थिएँ ।

गोरुलाई हाँक्ने हली त पछाडि देखिन्छ, मान्छे हाँक्ने हली वा मालिक को र कहाँ छ ? गोरुको जुँवा र जोतारो त देखिन्छ तर मान्छेको काँधको जुँवा के कस्तो हुन्छ र कसरी फालिन्छ ? किन सोँच्दैन मान्छे ? के सोच्ने भनेर मान्छे किन सोँच्दैन । गोरुभन्दा ठूलो गोरु को ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*