तिहारमा जनताको घर दैलो झिलिमिली बनाउन कुलमान आफैँ भार प्रेषण केन्द्रमा बसेर इन्जिनियरसंग काम गरे

काठमाडौं : देशभर दीपावलीको खुसीयाली भइरहेका बेला नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङ बुधबार राति कलंकी स्युचाटारस्थित भार प्रेषण केन्द्रमा पुगे । त्यहाँ पुगेर उनले आफैँ देशभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गरे ।

विद्युतको आपूर्ति र मागबीचको अन्तरलाई सन्तुलित बनाएर देशभर विद्युत् प्रवाह गराउने जिम्मा लिएका घिसिङ आफैँ भार प्रेषण केन्द्रमा बसेर देशभरको विद्युत् आपूर्तिको अवस्था निगरानी गर्न सक्रिय रहे ।

घिसिङले स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशभरका जलविद्युत केन्द्रबाट उत्पादितबिजुली र भारतबाट आयात भएको बिजुलीको अवस्थाबारे निरन्तर जानकारी मात्रै लिएनन् माग र आपूर्तिको सन्तुलनबारे पनि चनाखो भएर आफू मातहतका निकाय र कर्मचारीलाई त्यहीँबाट निर्देशन दिए । त्यति मात्रै नभएर देशभर आज साँझ बत्ती नकाट्ने योजना सफल बनाउन घिसिङ केन्द्रको मास्टर स्टेसनमा बसेर इन्जिनियरको जस्तै भूमिका निर्वाह गहरिरहेका छन् ।

घिसिङले १५ सय मेगावाट माग भए पनि त्यसको भार धान्न आफूहरु तयार भएको बताउँदै देशभर कहीँ कतै गडबडी हुन नदिइ जनताको घर दैलो झिलिमिली बनाउन केही दिन अघि नै निर्देशन दिएका थिए ।

दीपावलीको राति देशभर कहीँ पनि लोडसेडिङ हुन नदिने गरी व्यवस्थापन गरिएकाले त्यही अनुसार रिजल्ट देखाउने गरी काम गर्न प्राधिकरणले मातहतका सबै कार्यालयलाई भनेको थियो । आजको राति विद्युत् भारको चाप अत्यधिक हुने भएकाले केही प्राविधिक समस्या आइ गएमा तत्काल समाधान गर्ने गरी ठूला जलविद्युत केन्द्र, सव–स्टेशन र वितरण केन्द्रका कर्मचारीलार्इ उच्च सतर्क अवस्थामा रहँदै प्राविधिक सामग्री तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा वर्षभरिमा सबैभन्दा धेरै बिजुली आजकै दिन माग हुन्छ । प्राधिकरणका अनुसार दीपावलीका दिन १२ सय मेगावाटसम्म बिजुली माग हुने गरेको छ । घिसिङले भने १५ सय मेगावाट माग भए पनि आफूहरू त्यसका लागि तम्तयार रहेको बताइसकेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*