गाईलाई किन तिहारमा पूजा गरिन्छ ? यस्तो छ धार्मिक कारण

काठमाडौं । नेपालीहरुको महान पर्व तिहारको आज गाई र धनधान्य देवी लक्ष्मीको पूजा आराधना गरि मनाइँदैछ । तिहारको तेस्रो दिन, गाई तिहार तथा लक्ष्मी पूजा। लक्ष्मीको प्रतीकको रूपमा गाईको पूजा गरिन्छ ।

आजको दिनमा गाईको पूजा गरेर मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास रहेको छ। गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको बताइन्छ।

गाई पूजाका दिन घरमा गाई हुनेले गाईको पूजा गर्ने गर्छन् भने गाई नहुनेहरूले नजिक गाई भएको स्थानमा गई गाईको पूजा गर्ने गर्छन्।