लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बाल्नुस : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ। उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीले लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन भवन सिंगारिएको बताए।

आज साँझ १२७० मेगावाट बिजुली माग हुने अपेक्षा रहेको र त्योभन्दा बढी भयो भने पनि व्यवस्थापन गर्न सक्ने घिसिङले बताए ।

दुई वर्षअघि लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकामा लोडसेडिङ भएको थिएन। पछि त्यो क्रम बढ्दै गएर अहिले देश लोडसेडिङमुक्त भइसकेको छ। यद्यपी पोहोरसम्म लक्ष्मीपूजाको दिन प्राधिकरणले सकभर कम बिजुली खपत गर्न आग्रह गर्ने गर्थ्यो।

‘यसपाली हाम्रो उत्पादन बढेको छ, चोरी नियन्त्रण भएको छ, आयात पनि विश्वासनीय भएको छ तर त्यसको तुलनामा पिक आवरको लोड बढेको छैन,’ घिसिङले भने, ‘त्यसैले हामीलाई समस्या छैन।’

यमपञ्चक अन्तर्गत आज तेस्रो दिन गाई तिहार हो। साँझपख धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। बिजुली नहुने ठाउँमा दीयो बाल्ने चलन छ। शहरबजारमा भने घरभरि झिलीमिली बत्तीले बाल्ने गरिन्छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*