आयो डरलाग्दो खबर: फाट्यो धर्ति फुटेर टुक्रने भयो यो देश (भिडियोसहित)

केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ। धर्ती फाट्ने सो क्रम विस्तार हुँदै जाँदा राजधानी नैरोबी–नारोक राजमार्ग फाटेको छ। स्थिति भयावह हुनुको अर्को कारण के पनि छ भने सो क्षेत्रको सतहमुनि भूकम्प सक्रिय देखिएको छ।

केन्याको घटनापछि वैज्ञानिकदेखि सार्वसाधारणसम्म अफ्रिकी महादेशको भूखण्ड टुक्रिँदै छ भन्ने बहस भइरहेको छ। भूगर्वविद्का लागि अध्ययनको विल्कुलै नयाँ क्षेत्र थपिएको छ। हुन त पृथ्वी निरन्तर परिवर्तन भइरहने ग्रह हो। भूसतहमा भइरहने यी परिवर्तनबारे सामान्य मानिसले सरसर्ती हेर्दा खासै थाहा पाउँदैनन्।

पृथ्वीको थलमण्डल (पृथ्वीका तीन तहमध्ये सबैभन्दा माथिल्लो भाग) धेरै वटा टेक्टोनिक प्लेटमा विभाजित छ। ती प्लेटहरू स्थिर छैनन्। गतिशीलताका कारण स्थान सरिरहन्छन्। प्लेटहरुको त्यो गति भने फरक हुन्छ। काेही एक अर्कोसँग पौँठेजोरी खेलिरहेका हुन्छन् भने काेही एक अर्कोबाट छुट्टिँदै गएका हुन्छन्। जोडिने र छुट्टिने यो कार्य समान गतिमा भने हुँदैन। यो गतिविधि कुन प्रक्रियाबाट हुन्छ र कस्तो विषयले काम गर्छ भन्ने विषयमा वैज्ञानिकहरु एकमत छैनन्। सबै वैज्ञानिकले स्वीकारेको एउटा तथ्य के हो भने पुरानो टेक्टोनिक प्लेटभित्रै चिरा परेर नयाँ बन्ने गर्दछ।

अहिले पूर्वी अफ्रिकी देशमा देखिएको गतिविधि त्यही हो।

जसले पूर्वी अफ्रिकामा धेरै वटा विभ्रशं उपत्यका (रिफ्ट भ्याली) निर्माण गरेको छ। पूर्वी अफ्रिकामा तीन हजार किलोमिटर लामो रिफ्ट भ्याली बन्दैछ। यो भ्याली बन्न थालेको तीन करोड वर्ष पुगिसक्यो।

दुई वटा टेक्टोनिक प्लेट छुट्टिँदै जाँदा पृथ्वीको सतह धसिँदै गएर रिफ्ट भ्याली बन्ने हो। अफ्रिकामा बनिरहेको यस्तो भ्याली उत्तरमा एडेन खाडीदेखि दक्षिणमा जिम्बावेसम्म पुगेको छ। तर यो अझै रोकिएको छैन।

अफ्रिकी प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै जाँदा इथियोपिया, केन्या र तान्जानियासहितका देशमा रिफ्ट भ्याली निर्माण भइरहेको हो। यही क्रममा दक्षिण पश्चिम केन्याको भूभागमा केही महिनाअघि अकस्मात ठूलो चिरा देखिएको थियो। त्यो घटनाले धेरै मानिसमा अफ्रिका महादेश टुक्रिँदै छ भन्ने विषयप्रति चासो बढाइदिएको छ।

थलमण्डल तन्किन थालेपछि अन्ततः भूसतहमा रिफ्ट भ्याली निर्माण हुन पुग्दछ। त्यस्तो भूभागमा भूकम्प र ज्वालामुखीका गतिविधि सक्रिय हुन थाल्छन्। अहिले देखिएको भूसतह चिरा पर्ने क्रम अफ्रिकी महादेश छुट्टिने प्रारम्भिक चरण भएको वैज्ञानिकहरूले बताएका छन्। यसले पूर्णता पाउँदा नयाँ महासागर जलाधार निर्माणसम्म हुनसक्छ। यसको एउटा उदाहरण दक्षिण आन्ध्र महासगार निर्माण हो।

करिब ३ करोड ८० लाख वर्ष पहिले दक्षिण अमेरिका र अफ्रिका महादेश छुट्टिँदा दक्षिण आन्ध्र महासगार निर्माण भएको थियो। त्यही शैलीको भूसतह चिरा पर्ने क्रम यतिबेला अफ्रिकी मुलुकहरुमा देखिइरहेको छ। महादेश पूरै टुक्रिने काम आजको भोलि हुने होइन। यसका लागि थलमण्डललाई तोड्न सक्ने शक्ति निर्माण गर्न आवश्यक पर्छ। त्यो तहको शक्ति एकै पटक सञ्चय हुने पनि होइन। त्यसका लागि लाखौं वा करोडौं वर्षसम्म पनि लाग्नसक्छ।

पूर्वी अफ्रिकामा भूसतह फाटेर निर्माण भएको रिफ्ट भ्यालीको चित्र अन्तरिक्षबाट हेर्दा पनि स्पष्टैसँग देखिन थालेको छ। तर पूर्वी अफ्रिकी रिफ्ट भ्यालीहरूको भौगोलिक अवस्थिति एक अर्कोसँग मेल खाने किसिमको छैन। किन भने ती एकै पटक निर्माण भएका होइनन्।

अफ्रिका महादेश टुक्रिने प्रक्रिया भने करिब ३ करोड वर्ष पहिले उत्तर इथियोपियाको अफार क्षेत्रबाट सुरु भएको थियो। यतिबेला यो विस्तारै दक्षिणको जिम्बावेतर्फ फैलिँदै गएको छ। पृथ्वी चिरा पर्ने यो क्रम औसतमा वर्षेनी साढे २ देखि ५ सेन्टिमिटरका दरले भइरहेको छ।

महादेश छुट्टिने यो प्रक्रिया बढ्दै गर्दा भविष्यमा ज्वालामुखी पनि सक्रिय हुने वैज्ञानिकहरुको अनुमान छ। पूर्वी अफ्रिकामा पृथ्वी चिरापर्ने काम अनौठो छैन। दक्षिणतिरका चिराहरु ताजा हुन्।

अफार क्षेत्रका रिफ्ट भ्यालीलाई ज्वालामुखीका चट्टानले ढाकेका छन्। यसले के देखाउँछ भने पूरै क्षेत्रमा थलमण्डल निकै पातलो भएको र टुक्रिने चरणमा पुगेको छ। यो क्रम पूरा भएसँगै नयाँ महासागर बन्न शुरु हुनेछ। प्लेट टुक्रिँदा माग्मा तरलबाट ठोसमा परिणत हुन्छ। त्यसले पृथ्वीमा ठूलो खडाल निर्माण गर्छ। सो ठाउँमा पानी भरिएर महासागर निर्माण हुन पुग्छ। यसका लागि दशौँ लाख वर्ष लाग्ने वैज्ञानिकहरूको मत छ। यो अवधिभित्र अहिले पूर्वी अफ्रिकी देशहरुमा चिरिएका खाडलहरु पानीले भरिनेछन्। यसरी भूभाग टुक्रिँदा अहिलेको अफ्रिका महादेश सानो आकारमा सीमित हुनेछ।

‘हर्न अफ अफ्रिका’ क्षेत्रको जिबुटी, इरिट्रिया, इथियोपिया र सोमालियाको क्षेत्र हिन्द महासागरको एउटा ठूलो टापुको रुपमा स्थापित हुनेछ। साभार नेपाल खबर

भिडियाे हेर्नुहाेस्:

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*