सुनको मूल्य ६ वर्षयताकै उच्च, यसकारण ह्वात्तै बढ्यो भाउ

नेपाली बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्नुका साथै सेयर बजारसमेत तल झरेका कारण यसको असर सुन बजारमा परेको हो ।  सुन शुक्रबार ६० हजार चार सय पुगेको छ ।

डलरसँग भारतीय रुपैयाँ कमजोर हुनु र भारुसँग नेपाली रुपैयाँको स्थिर विनियम दरका कारण सुनको भाउ आकासिएकोे हो । साउन ३० गते प्रतितोला ५६ हजारमा कारोबार भएको सुन दुई महिनाको अवधिमा करिब पाँच हजारको हाराहारीमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुन एक हजार दुई सय ३८ डलर १० सेन्टमा कारोबार भएको थियो । यदि तीन महिना अघिजस्तो एक सय दुई रुपैयाँमा एक अमेरिकी डलर आउथ्यो भने अहिले पनि ५३ हजारमा नेपालीले एक तोला सुन पाउने थिए । अहिले सुनका लागि नेपालीले बढी मूल्य तिर्नुपरेको प्रमुख कारण भने अमेरिकी डलरको महँगिनु नै हो ।

अमेरिकी सेयर बजार र डलर दुवै कमजोर हुँदा पनि नेपाली बजारमा भने ६ वर्षयताकै सुन महँगो भएको हो । यसअघि २०६९ साल भदौमा प्रतितोला सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो ।

२०७३ सालमा प्रतितोला सुनको मूल्य ४७ हजार सात सयसम्म झरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*