सोह्र श्राद्धसँगै मुक्तिनाथ मन्दिरमा तीर्थ यात्रीको लाग्यो भीड

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन्। प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष (पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेका पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन्।

मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्दछ।

तीर्थालुलाई लक्षित गरी पोखरा विमानस्थलबाट समिट र तारा एयरलायन्सले दैनिक पाँच/पाँच उडान गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

यात्रुको चाप हेरी एयरलायन्सले ६/७ पटकसम्म उडान गर्ने गरेको जानकारी दिँदै उन ले सिम्रिक र तारा एयरलायन्सले हेलिकप्टरबाट सेवा सञ्चालन गरेको बताए ।

पोखरा हुँदै मुक्तिनाथको रानीपौवासम्मको बाटो कालोपत्रे भएका कारण स्थलमार्गबाट मन्दिर पुग्न पनि निकै सहज भएको छ।

मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढेको छ। रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङकाअनुसार रानीपौवामा पर्यटकलाई लक्षित २२ वटा होटेल सञ्चालनमा आएका छन्।

पाँचवर्ष अघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ ।

धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन्। स्रोह्रश्राद्ध शुरु भएयता होटेलमा दिनप्रतिदिन तीर्थालुको चाप बढेको जोमसोमस्थित मुस्ताङ हेरिटेज होटलका सञ्चालक राजेश भट्टचनले जानकारी दिए ।

पोखरा, काठमाडौँ, चितवनलगायत शहरका होटल शरहका सुविधा यहाँका होटलमा पाइनुका साथै कोठाबाटै हिमाल र मनोरम भू-वनोट अवलोकन गर्न सकिन्छ।

बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसंँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको बताउने मुक्तिनाथका पूजारी कृष्णप्रसाद सुवेदी पितृ पक्षका समयमा भने मन्दिरमा दैनिक पाँच सयदेखि एक हजारसम्म तीर्थालु आउने गरेकोे जानकारी दिए ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ। त्यहाँ पुग्न पोखरा, काठमाडौँ, सुनौली, बेनी र मालढुङ्गाबाट सवारीसाधन पाइन्छन्।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पूण्यभूमि मानिन्छ। भगवान् विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किम्बदन्ती छ।

ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथको मूर्तिलाई विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत् जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले पनि यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन्।

मन्दिरमा ब्राह्मण र यहाँका आदिवासी आनीले पनि पूजाआजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*