जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १६ लाख नागरिक प्रभावित

टोकियो । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ ।

गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।

अधिकारीहरू उद्धार कार्यमा खटिरहेका समाचारमा जनाइएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । सरकारी निकायले सुनामीको भने डर नरहेको बताएका छन् ।

यस द्वीपका अधिकांश भू–भागमा विद्युत्सेवा र रेलसेवा चलेको छैन । आँधीले विच्छेद गराएको विद्युत् सेवा पुनः शुरु भएपछि भूकम्प गएको अधिकरीहरूले बताएका छन् ।

भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ ।

बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ । यस भूकम्पबाट कम्तीमा पनि १६ लाख नागरिक प्रभावित भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*