भारतले धौलीगङ्गा बाँध खाेल्दै : महाकालीमा बाढी अाउने खतरा, सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ ।

बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।