सडकका खाल्डा पुर्न नसक्ने, अनि सपना चाहिँ रेल ?

अहिले हाम्रा भइरहेका सडकहरु नै खाल्डाखुल्डीले निकै नराम्रा बनेका छन् । त्यसैले आजको आवश्यकता भनेको सडक हो । भएकै सडकका खाल्डा पुर्न नसक्दासम्म रेलको सपना बाँड्नु न्यायोचिन होइन ।

अहिले रेल हाम्रो प्राथमिकतामा पर्दैन । बरु देशभर सडक सन्जाल विस्तार गर्नुपर्छ । अझै पनि हाम्रा गाउँहरु सडक सन्जालको पहुँचबाहिर छन् । गाउँबाट सहरसम्म आउन पैदल हिँड्नु पर्ने बाध्यता उस्तै छ । वर्षौदेखि योजना बने पनि काठमाडौंमै बाहिरी चक्रपथ निर्माण गर्न सकेका छैनौँ ।

पहिले सबैतिर सडक सन्जाल पुगोस् अनि बल्ल रेलको आवश्यकता हुन्छ । त्यसैले पनि हाम्रो पहिलो प्राथमिकता भनेको सडक हो, त्यसपछि मात्र रेल ।

अहिले रेल आए हाम्रो उत्पादन भारत–चीन पुग्छ भनिएको छ । तर, पहिले हामीले सोच्नु पर्ने हो– हाम्रा उत्पादन के–के छन् त ? भारत र चीन दुवै देशबाट आउने रेलले काठमाडौंलाई केन्द्रविन्दुमा राख्ने भनिएको छ । तर, सोच्नु पर्ने विषय हो– काठमाडौंमा के उत्पादन हुन्छ ?

अर्कोतिर रेलमार्गले छुने स्थानहरुमा सडकमार्ग पुग्छन् कि पुग्दैनन् भन्ने पनि महत्वपूर्ण विषय हो । त्यस्तो भए र उत्पादन भए न हामीले रेलमा सामान लैजान सक्छौँ । हामीले कृषिमा राम्रो गर्यौ र हाम्रा हस्तकलाका सामग्री पनि सहजरुपमा भारत पठाउने हो भने पनि सडक सन्जाल फैलिनु पर्छ । देशका हरेक ठाउँमा उत्पादन भएका वस्तुहरु राजधानीसम्म सहज रुपमा आउनु पर्छ ।

यसको अर्थ रेल बन्नै हुँदैन भन्ने पनि होइन । तर, अहिले नै रेलका लागि अर्बौं रकम खर्च गर्नु मुर्खतावाहेक केही होइन ।

भारत र चीनको बजारलाई एकपटक हामीले हेर्न सक्यौँ र त्यसअनुरुप उत्पादन गर्न सकेमात्र रेलले फाइदा हुन्छ । अन्यथा रेलले फाइदा हुँदैन, ठूलो नोक्सान पुर्याउनेछ ।

किशोर थापा

नोक्सान किन पनि भने भारतीय लगानीका धेरै उद्योग अहिले पनि चीनमा छन् । अनि चिनियाँ लगानीका धेरै उद्योग भारतमा छन् । भारत–चीन एकअर्काका ठूला व्यापारिक साझेदार हुन् । अहिले हामीले रेल बनायौँ भने उनीहरुका उत्पादन ओसारपसार गर्ने मार्गका रुपमा नेपाल प्रयोग हुनसक्छ ।

यसको अर्थ हो हामी प्लेटफर्ममात्र बन्ने छौँ– भारतीय रेलले ल्याएको सामग्री चिनियाँ रेलमा र चिनियाँ रेलले ल्याएको भारतीय सामग्री भारतीय रेलमा लोडअनलोड गर्ने ठाउँ । अहिले भारत र चीन नेपालमा किन रेल चाहन्छन् भने उनीहरुको सामान ओसारपसार गर्न हाम्रो देशको मार्ग प्रयोग गर्न पाइन्छ र व्यापारका लागि रेल सस्तो माध्यम हो ।

यसरी हाम्रो मार्गबाट गुड्ने रेलबाट हामीले पनि फाइदा त लिन सक्छौँ । तर, त्यसका लािग हामीले तयारी र अध्ययन गर्नु पर्ने हुन्छ । तिनै रेलमा हामीले चिनियाँ र भारतीय पर्यटक भित्र्याउन सक्छौँ । तर, त्योभन्दा पहिले नेपालका पर्यटकीय स्थलको प्रचार गर्नुपर्छ । रेलमा पर्यटक आइसकेपछि उसलाई अर्को ठाउँमा जान सडक या हवाई मार्ग चाहिन्छ । त्यसको विकास हामीले गर्नुपर्छ ।

एउटा उदाहरणमा तिब्बतलाई नै लिऔँ । तिब्बतमा मासुको माग अत्यन्त धेरै छ । हामी त्यो माग पुरा गर्न सक्छौँ त ? चीन सरकारसँग कुरा गरेर हामीले केही विशेष वस्तु नेपालबाट मात्रै निर्यात गर्ने सम्झौता गर्न सक्छौँ ? तर, माग पुरा गर्नका लागि नै पहाड, वन जंगल तथा नदीनाला अत्यधिक दोहन गर्न चाहिँ दिनु हुँदैन ।

अर्कोतिर भारतमा अदुवालगायत केही कृषि उपजको माग पनि बढ्दो छ । यी मागहरु पूरा गर्न पहिले हामीले कृषि उपज बढाउनु पर्छ । अनि ती मुलुकहरुमा सहज व्यापार गर्न सम्झौता गर्नुपर्छ ।

सचेत के कुरामा पनि हुनुपर्छ भने रेल मार्गमा हाम्रा पहाड, वन तथा निकुन्जहरुमा पनि नराम्रो असर पर्न सक्छ । तीव्र गतिमा सन्चालन हुने रेलले पर्यावरणीय कस्ता असर गर्छन् भन्ने पनि हामीले ध्यान दिनुपर्छ ।

अहिले पनि भारत र चीनका विभिन्न नाकाहरुबाट तस्करी भइरहेको समाचार आइरहेका हुन्छन् । रेलमार्ग हुँदा यस्ता गतिविधि बढ्ने सम्भावना पनि बढ्दै जान्छ । त्यसैले पनि रेलमार्गबारे सरकार गम्भीर हुनुपर्छ ।

हो, अहिले सरकारले रेलको सपना त देखाइरहेको छ । तर, कस्तो रेल, कसरी बनाउने, कसरी सन्चालन गर्ने भन्ने कुनै स्पष्टता छैन । बरु सरकारले राष्ट्रवादको पक्षपोषण गरिरहेको छ । यस्तो अवस्थामा नेपालमै रेल कम्पनी स्थापना गरेर भारत र चीन सरकारलाई वा त्यहाँका नीजि कम्पनीलाई रेलवेमा लगानी गर्न लगाउन सकियो भने राम्रो हुन्छ ।

यसले रेलको स्वामित्व नेपालमै रहने देखाउँछ । भारत–चीनले नै स्वामित्व लिने गरि रेल निर्माण गर्ने हो भने त झन् विवादास्पद हुनसक्छ । सबैभन्दा ठूलो डर भनेको हामी भारत र चीनको बजार मात्र बनेर सकिन्छौँ कि भन्ने हो । बेलैमा सोचिएन भने खाडीमा पसिना बगाएको पैसाले भारतीय र चिनियाँ सामग्री मात्र किनेर बस्नु पर्ने अवस्था आउला कि भन्ने हो ।

हो, व्यापारका लागि सबैभन्दा सस्तो माध्यममध्ये रेल एउटा हो । तर, रेल अहिले नेपालको आवश्यकता होइन, भविष्यमा चाहिँ चाहिन्छ । हामीले पहिले हाम्रा उद्योगको क्षमता विकास गर्नुपर्छ, र उताबाट आउने रेललाई यताबाट सामान पठाउन सक्नुपर्छ । त्यसैले अहिले रेलबारे होइन, हामीले रेलको स्वामित्व र हाम्रा उत्पादन क्षमताबारे गम्भीर भएर सोच्नै पर्छ ।

(थापा पूर्वाधार  विज्ञ हुन् ।)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*