रामेछाप: नेपालमा पनि फरक-फरक अचम्म अचम्मको कुराले सबैलाई छक्क पार्दै आइरहेकै छ | कहिले कुन घटना-कहिले के यस्तै रामेछापमा पनि बिल्कुलै अचम्म लाग्न सक्ने घटना घटेको छ | सुन्दा नै अचम्म एउटा बोकाले सिंगो रामेछाप जिल्ला हल्लायो भन्दा को छक्क नपर्ला |

त्यो यही बोको हो जसले जिल्लामा हल्लिखल्लीनै मच्यो । अनि जिल्लाका सबै सरोकारवालालायई एकै ठाउँमा भेला पनि गरायो ।यो बोको राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रामेछापले भूकम्प पीडितलाई अनुदानमा वितरण गरेको थियो । बोको खाँडादेवी गाउँपालिका-४ पकरबासका किसान कर्णबहादुर माझीले किनेर लगेका थिए ।

गतसाल सोही कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालय आफैंले खरिद गरी वितरण गरेका बोकामा आर्थिक अनियमितता भएको भन्दै व्यापक गुनासो आएपछि यस वर्ष अनुदानको रकम एकमुष्ट कृषकको खातामा हालिदिने र सो रकमबाट किसानले आफ्नो पैसा समेत थपेर बोका खरिद गर्ने गरी पशु सेवा कार्यालयले कार्यक्रम बनाएको थियो ।

बोका खरिदको लागि कार्यालयले एकमुष्ट १५ हजार रुपैयाँ दिने सो रकमबाट किसानले कम्तिमा पनि १८ केजी तौल भएको स्वस्थ ब्याडको बोको खरिद गर्नुपर्ने सर्त थियो ।

सोही अनुसार अनुदान पाउनेमा नाम परेपछि कर्णबहादुरले सिन्धुलीको सुनकोशी गाउँपालिकाको चैनपुरबाट १६ हजार रुपैयाँ हालेर लामा लामा कान अनि लुर्कना समेत भएको सेतो बोको खरिद गरेर ल्याए ।

बोको ल्याएपछि उनले जिल्ला पशु सेवा कार्यालयमा तौल गराए, अनि कार्यालयले बोकोलाई विमाको ट्याग पनि लगाइदियो । ट्याग लगाएर ल्याएको बोको जिल्ला सदरमुकाम मन्थलीको चोकमा लिएर आएको बेला पूर्वसाभाषद समेत रहेका माओवादी नेता तारानारायण श्रेष्ठले देखे ।

बोकाको फोटो खिचियो, केही सञ्चारकर्मीहरुले श्रेष्ठको भनाईलाई उद्धृत गर्दै ९ किलोको बोकोलाई १९ किलोको ट्याग भन्ने समाचार लेखे । सो समाचार सामाजिक सञ्जालमा भाइरल नै बन्यो । पूर्व सभासद श्रेष्ठले फेसबुकमा यो बोकोको फोटो पोष्ट गरे ।

बोकाको समाचार भाइरल बनेपछि जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर नारायण शर्मा र कार्यालयका कर्मचारीहरुको टाउको दुखाई बन्यो । समाचार आएपछि उनले रातारात बोको किन्ने किसान र बोकोलाई जिल्ला पशु सेवा कार्यालयमा झिकाए ।

जिल्लाका पत्रकार, मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत, जिल्लाका सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी र सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुलाई समेत जम्मा गराए । अनि सबै सरोकारवालाको अगाडी बोको जोखियो । बोको २४ किलो भयो ।

सो विषयमा भएको सारोकारवालाको छलफलमा पूर्व सभासद श्रेष्ठले स्पष्टीकरण दिए- ‘मैले बोको देखेको हैन । फोटो हेर्दा सानो पाठो देखेँ । यो बोको त्यस्तै ९ किलोको होला भनेको हो । मैले गलत गरे पनि गरेँ, सहि गरेपनि गरेँ ।’

समाचार लेख्ने पत्रकारको पनि प्रष्टीकरण थियो- ‘पूर्व सभाषदले भने मैले लेखिदिएँ । मैले पनि बोको देखेको हैन ।’

लामो समय छलफल तथा सवाल जवाफपछि प्रमाण बोको र किसाननै सँगै भएपछि समाचार र समाचार दिने स्रोत गलत भएको निष्कर्ष निस्कियो । अन्तमा बोकाको बारेमा सरोकारवाला सबै प्रष्ट भएको निर्णय लेखि बैठक ट्ङ्गयिो ।

बिनाकाममा आफूले दुःख दिनु पर्ने अवस्था आएकोमा पशु सेवा कार्यालयका प्रमुखले क्षमा मागे । किसान भने आफूलाई बिना काममा दुःख दिएको भन्दै बाको डोहोर्‍याएर हिँडे । कम्ताको छ यो बोको ? जसले पूर्वसाभाषद देखि पत्रकारसम्मलाई आच्छु आच्छु पार्‍यो । अनलाई खबर बाट

LEAVE A REPLY