काठमाडौं: राष्ट्रपति पदमा विद्या भण्डारी निर्वाचित भएकी छिन्। वाम गठबन्धनका तर्फबाट आगामी पाँच वर्षका लागि उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति भण्डारीले कुमारी लक्ष्मी राई भन्दा तेब्बर बढी मतले निर्वाचित भएकी हुन्।

एमाले नेता रविन्द्र अधिकारीका अनुसार ३९ हजार २ सय ७५ र राईले ११ हजार ७ सय ३० मत पाएकी छिन्।

कूल ५२ हजार पाँच सय मतभार कायम रहेको चुनावमा २६ हजार दुई सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुने कानुनी व्यवस्था रहेको छ।

भण्डारीले तीन चौथाइ मत पाएर पाँच वर्षका लागि राष्ट्रपति बन्ने भएकी हुन् । भण्डारी नयाँ संविधान जारी भएपछि तीस महिना अघि पहिलोपटक राष्ट्रपति बनेकी थिइन्।

नयाँ राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट भएको हो।

संघीय संसद का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता थिए। जसमध्ये संघीय संसदका पाँच र प्रदेशसभाका १४ जना सांसदले मतदानमा भाग नलिएको निर्वाचन आयोगले जनाएको छ।

संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ।

LEAVE A REPLY